एर्लिङ हालान्डको दुई उत्कृष्ट गोलको मद्दतमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
मैदानमा लामो समय खासै प्रभावशाली नदेखिएका हालान्डले आफ्नो घातक फिनिसिङ क्षमता फेरि एकपटक प्रमाणित गरे । खेलको ७९औँ मिनेटमा उनले हेडमार्फत पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए । त्यसपछि ९०औँ मिनेटमा बक्सबाहिरबाट प्रहार गरेको शक्तिशाली लो-सट गोलमा परिणत गर्दै उनले टोलीको ऐतिहासिक जित सुनिश्चित गरे ।
२५ वर्षीय स्ट्राइकरले खेलभर पेनाल्टी क्षेत्रभित्र केवल चार पटक मात्र बल छोए । तर त्यसमध्ये दुई अवसरलाई गोलमा परिणत गर्दै उनले विश्व फुटबलका सबैभन्दा खतरनाक फरवार्डमध्ये आफू किन पर्छन् भन्ने देखाए । यससँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्याउँदै फ्रान्सका किलियन एमबाप्पे र अर्जेन्टिनाका लियोनेल मेस्सीसँग गोल्डेन बुट दौडमा बराबरी गरेका छन् ।
पूर्व स्कटल्यान्ड विंगर प्याट नेभिनले हालान्डको विजयी गोलको प्रशंसा गर्दै भने, “त्यो अवस्थामा गोल गर्ने क्षमता अरू खेलाडीमा विरलै देखिन्छ । त्यहाँ गोल गर्ने कुनै अवसर नै थिएन ।”
त्यस्तै, इंग्ल्यान्डका पूर्व स्ट्राइकर इयान राइटले भने, “धेरैले हालान्डले कम बल छुन्छन् भनेर आलोचना गर्छन् । तर उनले धेरै टचको आवश्यकता नै पर्दैन ।”
हालान्डले अहिलेसम्म नर्वेका लागि ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरेका छन् । अर्थात् उनले औसतमा प्रत्येक ७१ मिनेटमा एक गोल गरेका छन् । अझ रोचक कुरा, तीमध्ये केवल ६ गोल मात्र पेनाल्टीबाट आएका छन् ।
विश्वकपमा उनले समूह चरणमा इराक र सेनेगलविरुद्ध समान दुई-दुई गोल गरेका थिए । त्यसपछि फ्रान्सविरुद्ध विश्राम पाएका उनी नकआउट चरणमा आइभरी कोस्टविरुद्ध निर्णायक गोल गरेपछि ब्राजिलविरुद्ध पनि दुई गोल गर्दै टोलीका नायक बने ।
हालान्डले नर्वेका लागि लगातार १४ प्रतिस्पर्धात्मक खेलमा गोल गर्ने कीर्तिमान पनि कायम राखेका छन् । यस अवधिमा उनले २७ गोल गरेका छन् । उनले अन्तिम पटक अक्टोबर २०२४ मा अस्ट्रियाविरुद्धको यूईएफए नेसन्स लिग खेलमा गोल गर्न सकेका थिएनन् ।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको नर्वे अब विश्व उपाधिबाट केवल तीन जित टाढा छ । क्वार्टरफाइनलमा उसको सामना मेक्सिकोलाई ३–२ ले हराएको इंग्ल्यान्डसँग हुनेछ ।





प्रतिक्रिया