विश्व फुटबलका महान खेलाडीमध्ये एक क्रिस्टियानाे राेनाल्डाेकाे ऐतिहासिक करियर विश्वकपको उपाधिविनै टुंगिएको छ । पोर्चुगल स्पेनसँग अन्तिम १६ को खेलमा १–० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डोको अन्तिम विश्वकप यात्रा समाप्त भएको हो ।
अमेरिकाको डलासमा भएको प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समयको अन्त्यतिर माइकल मेरिनाेले गरेको निर्णायक गोलले स्पेनलाई क्वार्टरफाइनलमा पुर्यायो । खेल सकिएपछि रोनाल्डो आँसु झार्दै मैदान छाडेका थिए ।
पाँच पटकका बालेनडि ओर विजेता, पाँच पटकका यूइएफए च्याम्पियन्स लिग च्याम्पियन तथा यूइएफए युराे २०१६ विजेता रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट विश्व कीर्तिमानी ९७६ गोल गरेका छन् ।
उनले लगातार ६ वटा विश्वकपमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन् । तर विश्वकप जित्ने उनको सपना भने पूरा हुन सकेन । उनको सबैभन्दा उत्कृष्ट उपलब्धि सन् २००६ को विश्वकपमा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउनु नै रह्यो ।
रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। खेलपछि राष्ट्रिय टोलीबाट भविष्यबारे सोधिएको प्रश्नमा उनले भने, “अब परिवारसँग भेट्छु र शान्त मनले आगामी निर्णय लिनेछु ।”
यद्यपि, रोनाल्डोलाई प्रत्येक खेलमा सुरुआती रोजाइमा राख्ने निर्णयले पोर्चुगललाई असर गर्यो कि गरेन भन्ने बहस जारी रहने देखिन्छ ।
पराजयपछि प्रशिक्षक राेबर्टाे मार्टिनेजले पद छाड्ने घोषणा गर्दै रोनाल्डोको खुलेर प्रशंसा गरे ।
उनले भने, “यस विश्वकपमा उनले गरेको प्रयासका लागि हामीले उनलाई धन्यवाद दिनुपर्छ । उनको सपना विश्वकप जित्नु थियो, र त्यो सपना पूरा गर्न उनले उत्कृष्ट उदाहरण प्रस्तुत गरे । उनी केवल महान फुटबलर मात्र होइनन्, उत्कृष्ट मानव पनि हुन् ।”
यससँगै विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा भावुक अन्त्यमा पुगेको छ । यद्यपि, उनले फुटबलमा बनाएको विरासत भने सदैव अमर रहनेछ ।





प्रतिक्रिया