नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका सबै विषय एकैपटक खोल्न खोज्नु जोखिमपूर्ण हुने भन्दै प्राथमिकता निर्धारण गरेर मात्रै संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले संविधानका सबै प्रावधान एकैचोटि संशोधन गर्न खोज्दा देश फेरि राजनीतिक अस्थिरता र अनावश्यक विवादतर्फ धकेलिन सक्ने चेतावनी दिए ।
थापाले नेपालको संविधान निर्माण प्रक्रियाले लामो संघर्ष र व्यापक राजनीतिक सहमतिमार्फत प्राप्त गरेको उपलब्धिलाई जोगाउनुपर्ने उल्लेख गर्दै संशोधनलाई विवेकपूर्ण ढंगले अघि बढाउनुपर्ने बताए । उनका अनुसार, आठ–दस वर्षको प्रयासपछि संस्थागत हुँदै गएको व्यवस्थालाई फेरि अनिश्चितताको अवस्थामा पुर्याउने गरी संविधानका सबै विषय खुला गर्नु उचित हुँदैन ।
उनले संविधान संशोधनमा स्पष्ट प्राथमिकता नतोकिए अराजकता निम्तिन सक्ने बताए। संविधान निर्माणका क्रममा राष्ट्रियता र जनअधिकारबाहेक अन्य विषय संशोधन गर्न सकिने व्यवस्था गरिएको भए पनि त्यसको अर्थ जुनसुकै विषयलाई जथाभावी परिवर्तन गर्न सकिन्छ भन्ने नभएको उनको भनाइ थियो ।
सभापति थापाले संविधान संशोधनका विषयमा सरकारसँग टकराव नभई सहकार्य गर्न चाहेको स्पष्ट पारे । उनले नेपाली कांग्रेस संविधान निर्माणको मूल नेतृत्वकर्ता भएकाले संविधानप्रति पार्टीको विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै भावनात्मक आवेग वा पूर्वाग्रहका आधारमा होइन, राष्ट्रिय सहमति र जिम्मेवारीका साथ संशोधन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।
उनले सरकारले संविधान संशोधनका क्रममा बाटो बिराए कांग्रेसले आवश्यक सुझाव र सहजीकरण गरेर सही दिशामा ल्याउने भूमिका खेल्ने दाबी पनि गरे। संविधान संशोधनलाई राजनीतिक प्रतिस्पर्धाको विषय नभई राष्ट्रिय हितसँग जोडिएको संवेदनशील मुद्दाका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो ।
थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, बहुदलीय संसदीय शासन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक चरित्रजस्ता संविधानका आधारभूत सिद्धान्तमा नेपाली कांग्रेसले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे । साथै शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, खुला समाज र मानव अधिकार संविधानका आधारभूत स्तम्भ भएकाले तिनलाई कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए ।





प्रतिक्रिया