नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले सडक र संसद् दुवै मोर्चाबाट संघर्ष गरिरहेको बताएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आगामी दिनमा यी दुवै मोर्चालाई अझ सशक्त बनाइने बताएका हुन् ।
ओलीका अनुसार एमाले अहिले दुई तहमा संघर्ष गरिरहेको छ । एउटा सडक आन्दोलनमार्फत जनताको बीचमा र अर्को संसद्भित्र सरकारका गतिविधिविरुद्ध । उनले सडक आन्दोलनले केही चुनौती सामना गरे पनि त्यसलाई पुनः प्रभावकारी बनाउने तयारी भइरहेको बताए ।
अध्यक्ष ओलीले सडक संघर्ष र संसद् संघर्ष एकअर्काका परिपूरक भएको उल्लेख गर्दै जनताको आवाजलाई प्रभावकारी रूपमा उठाउन दुवै मोर्चा सँगसँगै अघि बढ्ने स्पष्ट पारे।
देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले अहिलेको राजनीति “परिभाषाविहीन, नीतिविहीन, दिशाविहीन र थितिविहीन” बनेको टिप्पणी गरे । उनले यस्तो अवस्थालाई सही दिशामा ल्याउने जिम्मेवारी एमालेले लिने दाबी गरे ।
सरकार परिवर्तन लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट मात्रै हुनुपर्ने उल्लेख गर्दै उनले हिंसा, आगजनी, तोडफोड, बलजफ्ती र कब्जाजस्ता गतिविधि लोकतान्त्रिक अभ्याससँग मेल नखाने बताए ।
ओलीले वर्तमान सरकारको गठन प्रक्रियामै गम्भीर प्रश्न उठाउँदै यसको सुरुआत हत्या र षड्यन्त्रबाट भएको आरोप लगाए । देशमा अहिले “बेलगाम अराजकता” रहेको दाबी गर्दै उनले समस्या केवल लोकप्रियताको नभई लोकतान्त्रिक प्रणालीमाथि नै चुनौती सिर्जना गर्ने प्रयास भइरहेको बताए ।
त्यस्ता गतिविधिविरुद्ध एमालेले सडक र संसद् दुवैबाट सशक्त प्रतिवाद र संघर्ष जारी राख्ने उनले स्पष्ट पारे ।





प्रतिक्रिया