नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू उपचारपछि स्वदेश फर्कन लागेको जानकारी दिँदै देशलाई प्रतिशोधको राजनीति होइन, राष्ट्रिय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा मंगलबार जारी गरेको सन्देशमा देउवाले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
उनले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बाटोमा जान सक्ने संकेत देखिएको उल्लेख गर्दै पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा आशावादी रहेको बताएका छन् ।
“सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि मेरो पूर्ण आस्था छ,” देउवाले सन्देशमा उल्लेख गरेका छन् ।
देउवाले पछिल्लो निर्वाचन चुनौतीपूर्ण राजनीतिक वातावरणमा सम्पन्न भए पनि जनताले विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई सुदृढ बनाउन रचनात्मक सहयोग गरिरहेको उनले बताएका छन् ।
तर सरकार प्रतिपक्षप्रति प्रतिशोधको राजनीति गर्दै स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिन थालेको उनको आरोप छ । न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई दबाबमा पार्ने प्रयास भइरहेको दाबी पनि उनले गरेका छन् ।
देउवाले वर्तमान परिस्थितिले मुलुकलाई विभाजन होइन, एकता, अविश्वास होइन, विश्वास र प्रतिशोध होइन, सहकार्यको आवश्यकता रहेको स्पष्ट पारेका छन् ।
“आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ,” उनले भनेका छन् ।
इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा प्रविधि र ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच राष्ट्रिय संवाद, आपसी विश्वास र साझा सहकार्य अपरिहार्य बनेको उल्लेख गर्दै देउवाले प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर राष्ट्र निर्माणलाई साझा संकल्प बनाउनुपर्नेमा जोड दिएका छन् ।
सन्देशको अन्त्यमा उनले आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै स्वदेश फर्कन लागेकाे बताएका छन् ।
उनी गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका देउवा अब उपचार सकेर स्वदेश फर्कन लागेका हुन् ।







प्रतिक्रिया