भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई दियो भ्रमणको निम्तो, मिति भने खुलाइएन



भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निम्तो दिइसकेको पुष्टि गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको जानकारी दिएका हुन् । यद्यपि, भ्रमण कहिले हुने वा निमन्त्रणा कहिले पठाइएको भन्नेबारे उनले कुनै जानकारी दिएनन् ।

पत्रकार सम्मेलनमा हालै प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको भारत भ्रमण र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेट प्रधानमन्त्रीको सम्भावित भ्रमणसँग सम्बन्धित हो कि भन्ने प्रश्न उठाइएको थियो ।

यसबारे प्रवक्ता जैसवालले आफूलाई त्यस सम्बन्धमा जानकारी नभएको बताउँदै नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो भने दिइसकिएको स्पष्ट पारे ।

प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका रूपमा हेरिएको छ । यद्यपि, भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : ५५ बजे