सुनसरी घटनामा घाइते अर्का युवकको मृत्यु, मृतककाे सङ्ख्या दुई पुग्याे



सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको हिंसात्मक झडपमा गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार, उपचाररत कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार मृत्यु भएको हो । उनको पेटमा गोली लागेको थियो ।

घटनामा घाइते भएका अन्य आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक जयप्रकाश मेहता सिटी सफारी चालक थिए । यसअघि सोही घटनामा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडप हिंसात्मक बनेपछि जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ ।

साे हिंसात्मक घटनाको विरोधमा धनुषाको जनकपुरमा पनि बिहीबार बिहानदेखि प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरूले रामानन्द चोकमा सडक अवरुद्ध गर्दै विरोध जनाएका छन् भने प्रदर्शन अन्य क्षेत्रमा समेत फैलिएको छ ।

बदलिँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै धनुषा जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।

उनका अनुसार, परिस्थितिको मूल्यांकन गर्दै आवश्यक परे जनकपुरमा कर्फ्यु आदेश जारी गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

‘सुरक्षा समितिको बैठक बसिरहेको छ । अवस्था हेरेर आवश्यक निर्णय लिइन्छ, कर्फ्यु लगाउने विषयमा पनि छलफल भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।

प्रदर्शनका क्रममा दुई पक्षबीच तनाव बढेपछि विभिन्न संवेदनशील स्थानमा प्रहरी परिचालन गरिएको छ ।

सुनसरीको देवानगञ्जमा भएको झडपपछि मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन फैलिँदै गएको छ भने सुरक्षा निकायले अवस्था नियन्त्रणमा राख्न निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : ४८ बजे