सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैलाई अपिल



राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।

बिहीबार जारी गरेको सार्वजनिक अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहँदै आएको सामाजिक र धार्मिक सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्व नै नेपालको पहिचान र गौरवपूर्ण परम्परा भएको उल्लेख गरेका छन् । उनले यही मूल्य र मान्यतालाई संरक्षण गर्दै देशमा शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

राष्ट्रपतिले हाल उत्पन्न परिस्थितिलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन, नागरिकले सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारले आवश्यक सबै प्रयास गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

उनले समुदायबीच एकता, आपसी विश्वास, मित्रता र सहिष्णुता कायम राख्दै कुनै पनि परिस्थितिलाई थप जटिल बन्न नदिन सबैलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै निकायलाई सतर्क र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

अपिलमा उनले घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देशभर शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ५ : ०९ बजे