इरानी ड्रोन आक्रमणमा कुवेतमा मारिएका नेपाली तेह्रथुमका सोमकुमार तामाङ रहेको पुष्टि



इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाउने तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेकाे पुष्टी भएकाे छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुने तामाङ कुवेतको उत्तरी क्षेत्रमा सवारी चालकका रूपमा कार्यरत थिए ।

नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जुलाई ३०, २०२६ मा कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा तामाङको मृत्यु भएको पुष्टि गरेको हो ।

दूतावासले स्वर्गीय तामाङप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, उनको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी अघि बढाइने जनाएको छ ।

यसैबीच, क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील रहेकाले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशन तथा मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न, संयमित रहन र सुरक्षित स्थानमा बस्न नेपाली दूतावासले आग्रह गरेको छ ।

यसअघि बिहीबार नै विभिन्न सञ्चारमाध्यममा एक नेपाली नागरिकको ड्रोन आक्रमणमा मृत्यु भएको समाचार सार्वजनिक भए पनि शुक्रबार दूतावासले आधिकारिक रूपमा मृतकको परिचय सार्वजनिक गर्दै घटनाको पुष्टि गरेको हो । नेपाली दूतावासले कुवेत सरकारसँग निरन्तर समन्वय गर्दै घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १२ : ४७ बजे