प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भएको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोका अनुसार छलफलका क्रममा मधेशकेन्द्रित दलका नेताहरूले संघीयताको भविष्य र वर्तमान राजनीतिक अवस्थाबारे चासो व्यक्त गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शाहले आफू संघीयताको पक्षमा दृढ रहेको र हिन्दु राष्ट्र तथा राजसंस्थाको एजेन्डासँग सहमत नरहेको स्पष्ट पारेका थिए ।
महतोका अनुसार प्रधानमन्त्रीले राजसंस्था संघीय व्यवस्थाको पक्षमा नरहेको उल्लेख गर्दै वर्तमान संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने पक्षमा आफू रहेको बताएका थिए ।
छलफलमा सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाबारे पनि विस्तृत कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले सरकारले परिस्थितिलाई थप बिग्रिन नदिन बहुपक्षीय रणनीति अपनाएको र राज्यका सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले सरकारको प्राथमिकता प्रभावित नागरिकको सुरक्षा सुनिश्चित गर्नु, घटनाको निष्पक्ष छानबिन गर्नु तथा सामाजिक सद्भाव कायम राख्नु रहेको उल्लेख गर्दै नागरिकलाई अफवाहमा नलाग्न र संयमता अपनाउन आग्रह गरेका थिए।
उनले मधेशबाट प्रतिनिधित्व गर्ने सांसद तथा नेताहरूलाई आ–आफ्नो क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न, विश्वासको वातावरण निर्माण गर्न र राज्य तथा नागरिकबीच सद्भावको पुल बन्न आग्रह गरे । अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमै पुगेर उनीहरूको दुःख–सुखमा साथ दिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको पनि प्रधानमन्त्री शाहले स्मरण गराएका थिए ।
छलफलमा सहभागी नेताहरूले तराई–मधेशमा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सरकार, राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजबीच निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिएका थिए ।




प्रतिक्रिया