प्रधानमन्त्री र गृहमन्त्रीबीच भेट, तराई–मधेशको सुरक्षा अवस्थाबारे छलफल



प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा पछिल्ला दिनहरूमा तराई–मधेशमा विकसित सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ गरिएको थियो । गृहमन्त्री गुरुङले मधेश क्षेत्रमा आफैं पुगेर सुरक्षा अवस्था, शान्ति स्थापनाका प्रयास र सरकारी पहलका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

भेटका क्रममा सुनसरीको देवानगञ्जबाट सुरु भएको हिंसात्मक घटनापछि विभिन्न जिल्लामा विकसित परिस्थितिबारे समीक्षा गरिएको स्रोतले जनाएको छ । साथै, अवस्था सामान्य भएसम्म अपनाउनुपर्ने सुरक्षा रणनीति र आगामी दिनमा शान्ति तथा सामाजिक सद्भाव कायम राख्ने उपायबारे पनि प्रारम्भिक छलफल भएको बताइएको छ ।

साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा निधन भएसँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

यस घटनाको प्रभाव अन्य जिल्लामा समेत फैलिँदा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यसपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको थियो ।

प्रधानमन्त्री र गृहमन्त्रीबीचको भेटमा यिनै घटनाक्रमको पछिल्लो अवस्था, सुरक्षा निकायको तयारी र शान्ति कायम गर्ने रणनीतिबारे केन्द्रित भएर छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  २ : ०४ बजे