सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विकास अर्थशास्त्री तथा सार्वजनिक नीति विज्ञ याङ्की उक्यावलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उनलाई चार वर्षका लागि बोर्डको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।
लगानी बोर्डको सीईओ छनोट प्रक्रियामा दुई दर्जनभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा थिए । प्रारम्भिक मूल्यांकनपछि सिफारिस समितिले आठ जनालाई छोटो सूचीमा समावेश गरेको थियो । अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धितालको नाम अन्तिम सिफारिसमा परेको थियो । मन्त्रिपरिषद्ले तीमध्ये उक्यावलाई छनोट गरेको हो ।
याङ्की उक्यावले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा कार्य गरिसकेकी छन् । उनले सार्वजनिक नीति, विकास अर्थशास्त्र, दिगो विकास, संघीय वित्तीय प्रणाली, सार्वजनिक लगानी र पूर्वाधार विकासका क्षेत्रमा लामो अनुभव हासिल गरेकी छन् ।
बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी उक्याव यसअघि पनि लगानी बोर्ड नेपालसँग आबद्ध भएर काम गरिसकेकी छन् । सरकारले उनको नियुक्तिसँगै विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन, ठूला पूर्वाधार आयोजना र लगानीमैत्री वातावरण निर्माणमा बोर्डले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेको छ ।





प्रतिक्रिया