अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले वैध रूपमा गरेको लगानी, सिर्जना गरेको सम्पत्ति र आर्जन गरेको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् । उनले लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नीति–नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमानयोग्य रहेको विश्वास गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा हेर्ने स्पष्ट पार्दै थप लगानी, उत्पादन विस्तार, नयाँ प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न आग्रह गरे ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एक संस्थाको प्रयासबाट मात्र सम्भव नहुने भन्दै निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए ।
वाग्लेले सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु नभई लगानी, उत्पादन, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको उल्लेख गरे । उद्योगले कमाएको नाफा पुनःलगानी हुँदा उत्पादन र रोजगारी बढ्ने तथा त्यसबाट आम्दानी, बजार र अन्ततः सरकारी राजस्वसमेत विस्तार हुने उनको भनाइ थियो ।
छलफलमा उनले बहुराष्ट्रिय कम्पनीहरूले बजेटमार्फत पाएका सुविधा, व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, लगानी विस्तारको सम्भावना तथा रोजगारी सिर्जना र नाफा पुनःलगानीमा सरकारले गर्नुपर्ने सहजीकरणबारे लिखित विवरण उपलब्ध गराउनसमेत आग्रह गरे ।
‘तपाईंहरू केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि मात्र होइन, नेपालका ठूला करदाता, रोजगारदाता, लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार हुनुहुन्छ,’ वाग्लेले भने ।
उनले नेपालमा थप लगानी विस्तार गर्दै भएका उद्योगको क्षमता बढाउन, नयाँ उत्पादनमा प्रवेश गर्न, प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आह्वानसमेत गरे ।





प्रतिक्रिया