कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले जानकारी दिए । उनका अनुसार मिति तय भएसँगै कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीले थप गति लिनेछ ।
निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन तथा अन्य तयारीलाई तीव्रता दिइने चन्दले बताए । प्रतियोगिताका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै तयारी अघि बढाइने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको ठूलो खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । त्यसैले प्रतियोगितालाई प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रतियोगिताले कर्णालीका खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशमा खेलकुद पूर्वाधार विकास र खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यसअघि विभिन्न कारणले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको मिति पटक–पटक अन्योलमा पर्दै आएको थियो । मिति तय भएसँगै प्रतियोगिता आयोजना हुने निश्चित भएको छ र कर्णालीमा तयारीले थप गति लिने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया