वरिष्ठ नेताहरूलाई उचित रूपमा समेटे गगनलाई सभापति मान्न तयार छाैँ : शशांक कोइराला



नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला/सम्मेलन संयोजक शशांक कोइरालाले गगन थापालाई पार्टी सभापति स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन् । तर, पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेताहरूलाई पनि उचित रूपमा समेट्नुपर्ने उनको भनाइ छ ।

साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय भेला/सम्मेलनपछि सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टीभित्रको एकतामा मुख्य समस्या पद बाँडफाँटसँग जोडिएको संकेत गरे ।

गगन थापालाई सभापति मान्न तयार हो कि होइन भन्ने प्रश्नमा कोइरालाले आफूहरू तयार रहेको स्पष्ट पारे । उनले थापालाई सभापति भएर अन्य नेताहरूलाई पनि समेटेर अघि बढ्न आग्रह गरेको बताए ।

‘सभापति गगन थापा तपाईं नै बस्नुस्, अरू साथीहरूलाई पनि समेट्नुस् भनेको हुँ,’ कोइरालाले भने, ‘तर उहाँले त्यो पनि नमान्ने हो भने हामी के गर्न सक्छौँ ?’

कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा र गगन थापाबीचको दूरी कम गराउन आफूले पहल गरिरहेको पनि बताए । आफूले थापासँग पटक–पटक भेटेर संवादको प्रयास गरेको उनको भनाइ छ ।

थापाले आफूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको भए पनि आफू कुनै एक पक्षमा लाग्ने पक्षमा नरहेको कोइरालाले स्पष्ट पारे । ‘मलाई तान्नु छ भने सबैलाई तान्नु’ भनेर आफूले थापालाई भनेको उनले बताए ।

कांग्रेस विभाजनको पक्षमा आफू नरहेको भन्दै कोइरालाले पार्टीभित्रका विभिन्न पक्षलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखे । दुवै पक्षले आफ्नो चाहना स्पष्ट रूपमा राखेर ‘हृदय सफा’ गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीभित्रको विवाद र एकतामा समस्या आउनुको प्रमुख कारण पद नै रहेको कोइरालाले दाबी गरे । ‘पद नचाहिएको भए यत्रो लडाइँ किन हुन्थ्यो?’ भन्दै उनले विगतमा पनि नेतृत्वको विषयमा विवादका कारण पार्टीभित्र दूरी बढेको बताए ।

कांग्रेसभित्रको विवाद तत्कालै कसरी र कहिले समाधान हुन्छ भन्ने यकिन नभए पनि आफू पार्टी एकताको पक्षमा रहेको कोइरालाले दोहोर्‍याए ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ७ : ०५ बजे