नेपाली समाजमा गाईजात्राले बोकेको हास्य–व्यङ्ग्य, सामाजिक चेतना र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै ब्राण्डवर्थ प्रालिले यस वर्ष पनि ‘८३ सालको गाईजात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम भदौ १२, १३ र १४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुनेछ । कार्यक्रममा नेपालका चर्चित हास्य–व्यङ्ग्य कलाकारहरूले समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा जनजीवनसँग सम्बन्धित विषयलाई हास्य र व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा वरिष्ठ हास्य–व्यङ्ग्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा र सीता न्यौपानेको प्रस्तुति रहनेछ । यस्तै, सरोज घिमिरे, आशीष खनाल ‘माडसाब’, कल्पना खतिवडा, प्रकृति गिरी, सन्देश सुवेदी, स्मारिका फुयाँल, टीकाराम आचार्य, नारायण कडरिया र पुष्पराज भट्टराईले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक केएनपी नेरोलेक पेन्ट्स रहेको छ ।
‘८३ सालको गाईजात्रा’मा कलाकारहरूले वर्तमान राजनीतिक परिस्थिति, सामाजिक प्रवृत्ति, प्रविधि तथा सामाजिक सञ्जालको प्रभाव, जनताका दैनिक समस्या र पछिल्लो समय चर्चामा रहेका विभिन्न घटनालाई आफ्नै मौलिक शैलीमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा हास्य प्रहसन, व्यङ्ग्यात्मक प्रस्तुति, प्यारोडी, गीत–संगीतलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ ।
कलाकार मनोज गजुरेलले गाईजात्रा संस्कृति संरक्षणसँगै सामाजिक विकृति र समसामयिक विषयमाथि व्यङ्ग्य गर्ने पर्व भएकाले हरेक वर्ष विशेष कार्यक्रममार्फत यसको उत्सव मनाउँदै आएको बताए । यसपटकको कार्यक्रममा युवापुस्ताको उल्लेख्य सहभागिता रहने र प्रविधिको प्रयोगलाई समेत विशेष प्राथमिकता दिइने उनको भनाइ छ ।
आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले नेपाली हास्य–व्यङ्ग्यको मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने, कलाकार र दर्शकबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा समसामयिक विषयमा मनोरञ्जनात्मक संवाद सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
विभिन्न पुस्ताका कलाकारहरूको सहभागिताले यस वर्षको गाईजात्रा कार्यक्रमलाई थप विविध र रोचक बनाउने आयोजकको अपेक्षा छ ।




प्रतिक्रिया