भोटेकोशी बाढीका मृतकप्रति ओलीद्वारा श्रद्धाञ्जली व्यक्त, बेपत्ताको सकुशल उद्धारको कामना



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भोटेकोशीमा बाढी आएको १३औँ दिन तथा मृतकहरूको पुण्यतिथिका अवसरमा ओलीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

ओलीले बाढीका कारण भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन् । उनले आफ्ना प्रियजन गुमाएका परिवार तथा आफन्तजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।

बाढी र विपद्को समयमा अहोरात्र खटिएर बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याउने एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राज्यका अन्य निकाय, सामाजिक संघ–संस्था, प्रदेश तथा स्थानीय सरकार, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय समुदायप्रति ओलीले धन्यवाद व्यक्त गरेका छन् ।

उनले बाढीपछि अझै आशामा रहेका बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार हुने विश्वाससमेत व्यक्त गरेका छन् । साथै, बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग ओलीले पुनः जोडदार माग गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ४ : २६ बजे