जडीबुटी खोज्न जाँदा बेपत्ता भएका २ जनाको शव फेला, गमगढी ल्याइँदै



काठमाडौं । जडीबुटी खोज्न हुम्ला–मुगु सीमावर्ती मिमी पाटन पुगेका मुगुका तीन जनाको मृत्यु भएको छ । जडीबुटी संकलन गर्ने क्षेत्रको सीमा र उपयोगलाई लिएर भएको झडपमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि सम्पर्कविहीन भएका थप दुई जनाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको हो ।

मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको असोज ११ गते भएको झडपमा मृत्यु भएको थियो । सोही टोलीका ३६ वर्षीय ललितजङ्ग बडुवाल र अंगबहादुर रोकाया भने त्यसपछि सम्पर्कविहीन भएका थिए ।

बडुवालको शव असोज १७ गते हुम्लाको चंखेली गाउँपालिका-२ को सीमाना पर्ने मिमी लेक क्षेत्रमा हिउँले पुरिएको अवस्थामा भेटिएको थियो ।

रोकायाको शव बुधबार सानो मिमी क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । डिएसपी रविराज थपलियाका अनुसार दुवै शव फेला परेसँगै सम्पर्कविहीन भएका दुई जनाको खोजी कार्य सकिएको छ ।

बिहीबार बिहान संयुक्त सुरक्षा टोलीले दुवै शव मुगुको छाइलाबाट गाडीमा राखेर जिल्ला अस्पताल मुगुतर्फ ल्याएको छ ।

मृतक तीनै जनासहित पापु र छाइलाका १३ जना असोज १० गते जडीबुटी खोज्न गाउँबाट निस्किएका थिए । झडपपछि १० जना सम्पर्कमा आए पनि बडुवाल र रोकाया बेपत्ता भएका थिए ।

उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा २० सदस्यीय संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो । सेनाका सात, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका छ सदस्य टोली असोज १९ गते घटनास्थलतर्फ गएको थियो ।

अत्यधिक उचाइ, बाक्लो हिउँ, कठिन भूगोल र प्रतिकूल मौसमका बीच सुरक्षाकर्मीले खोजी गरेका थिए । घटनास्थलसम्म पुग्नै कठिन रहेकाले शव खोजी र उद्धारमा चुनौती देखिएको थियो ।

मिमी पाटन कुट्की, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने उच्च हिमाली क्षेत्र हो । मुगुम कार्मारोङ गाउँपालिका-७, ८ र ९ का स्थानीय लामो समयदेखि यहाँ जडीबुटी संकलन गर्न जाने गरेका छन् ।

स्थानीयका अनुसार जडीबुटी संकलन हुने वन क्षेत्रको सीमा र उपयोगलाई लिएर दुई पक्षबिच विगतदेखि नै विवाद रहँदै आएको छ । यस पटकको विवाद झडपमा परिणत हुँदा एक जनाको ज्यान गयो भने बेपत्ता भएका थप दुई जनाको शव पनि हिमालमै भेटिएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : ०२ बजे