काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।
उनले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । विमानस्थलमा चीन भ्रमणमा जान लागेका सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको बताए ।
सरकारअन्तर्गतका निकाय र व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने उनको भनाइ थियो । सम्बन्धित विषयमा निर्णय गर्ने अधिकार र जिम्मेवारी प्रधानमन्त्रीकै रहेको उनले स्पष्ट पारे ।
‘प्रधानमन्त्रीज्यूले केही कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ,’ खरेलले भने ।
गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिहरूबारे सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको पनि उनले बताए । ती विषयमा प्रधानमन्त्रीको धारणा र सरकारले चाल्ने कदमबारे पार्टीले प्रतीक्षा गरिरहेको उनको भनाइ थियो ।
सभापति, महामन्त्रीसहित पार्टीको नेतृत्व र सम्पूर्ण टोली सरकार सञ्चालनमा कुनै अवरोध वा हस्तक्षेपको महसुस नहोस् भन्नेमा सचेत रहेको खरेलले बताए । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा निरन्तरता दिने विषयमा पनि पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । यो सरकारको विवेक र निर्णयको विषय भएको उनको भनाइ थियो ।
उक्त विषय अदालतसम्म पुगेको र केही प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने उनले बताए ।





प्रतिक्रिया