कांग्रेस बैठकः देउवाको प्रस्तावमा लाइभ, महामन्त्रीद्धयको बार्षिक क्यालेण्डर

५ देखि ७ लाख सदस्य थप्ने योजनाका साथ ‘घरघर जाऔं, पार्टी सदस्यता बनाऔं’ अभियान



काठमाडौं – प्रजातान्त्रिक पार्टीमात्र भनिदिंदा पुग्ने नेपाली कांग्रेसले विधानले तोकेको समयमा न पार्टीका बैठक गर्यो, न भातृ संस्थाहरुका निर्वाचन । सवै तदर्थवादमा चलाइए ।
तर मंगलबार सुरु पार्टी केन्द्रीय कार्य समितिको बैठक भने फरक ढंगले सुरुभयो– सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्दै । यो एउटा सकारात्मक अभ्यास हो, पार्टीका कार्यकर्ताले मात्र होइन, नागरिकले समेत प्रत्यक्ष रुपमा बैठकभित्र प्रस्तुत बिचार र तिनका वहस हेर्ने र सुन्न पाएका छन् ।
प्रत्यक्ष प्रशारणको प्रस्ताव फेरी युवा भनिएका नेताहरुबाट आएको होइन, स्वम सभापति देउवाबाट आएको हो, जसमा सवैको सहमति भयो ।
देउवालाई संसदीय दलको नेताबाट विस्थापन गर्न कस्सिएका महामन्त्री गगन थापा र उनलाई सहयोग गर्दै आएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना एजेण्डा बैठकमा राखेका छन् । महामन्त्री शर्माले छलफलका लागि १० वटा एजेण्डा प्रस्तुत गरेभने थापाले सांगठनिक कार्ययोजना र कार्यतालिका अन्तगर्त एक वर्षे कार्यतालिका प्रस्ताव गरे । थापाकै भनाईमा उक्त कार्ययोजना दुई महामन्त्रीको संयुक्त कार्ययोजना हो । थापाले भने ‘यो प्रस्ताव हो, यसमा नयाँ आइडियाहरु थपौं ।’
तर कांग्रेसभित्र जसरी देउवालाई विस्थापित गर्ने प्रयासमा गगन छन्, त्यसमा स्वम देउवाको प्रतिक्रिया सामान्य देखिन्छ, तर देउवा समुहका सवै नेताभने निकै आक्रोसित देखिन्छन्, कुनै हालतमा नझुक्न देउवालाई आग्रह गरिरहेका छन् । पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउदहरु त्यसको अग्रपंक्तिमा पर्छन् ।
राजनीतिक प्रतिस्पर्धामा एमालेमात्र नभएर अव रास्वपालगायतका नयाँ पार्टी र राजावादी पार्टीका रुपमा राप्रपा समेतको आकार बढेको अवस्थामा कांग्रेसलाई परम्परागत ढंगबाटै सञ्चालन गर्दा आकर्षण बढ्ने सम्भावना छैन । एमालेमाथि पनि यो दवाव छ । त्यसअर्थमा महामन्त्रीद्धयले क्यालेण्डरसहित व्यवस्थित रुपमा पार्टी सञ्चालनको सोच राखेका हुनसक्छन्, तर फेरी मुल प्रश्न कार्यान्वयनको हो । महामन्त्रीद्धयप्रति जनआकर्षण देउवा र उनको समुहको अरु नेताको भन्दा बढी छ, तर पार्टी गतिशिल नहुनुमा सभापतिसँगै महामन्त्रीहरु पनि जिम्मेवार छन् ।
सभापति देउवाले नल्याएको कार्यक्रम कार्यान्वयन हुनेमा आशंका छ तर त्यसमा भएका पक्षविपक्षका वहसले कार्यान्वयन नहुँदापनि वहसलाई विस्तारित त गर्छनै । केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्– उहाँले ल्याएका योजनाबद्ध कार्यक्रम उल्लेखनीय छन् । तर यसको कार्यान्वयन चाहिँ चुनौतीपूर्ण छ ।’
थापा र शर्मा महामन्त्रीले निर्वाचित भएपछि डेढ वर्षसम्म अपेक्षित काम गर्न नसकेको आरोप देउवा पक्षका नेताहरुको पनि छ । शायद त्यसैलाई चिर्न उनीहरुले ल्याएको सांगठनिक कार्ययोजना र कार्यतालिका आकर्षक छ । मुल कुरा पार्टी विधानमा बाँधिनेछ । महामन्त्रीद्वयले अघि सारेको कार्यक्रम केन्द्रीय समितिले अनुमोदन गरेमा ६ हजार ७४३ वडा समिति वर्षभर क्रियाशील हुने देखिन्छ ।

साउन महिनालाई ‘मन्थ अफ ग्रिनरी’ भनिएको छ, जसअनुसार ६ साउनमा सबै कार्यकर्ताले रुख रोप्नुपर्नेछ । भदौ महिना ‘मन्थ अफ लिट्रेचर’ को रुपमा कांग्रेसले मनाउनेछ । पार्टीका संस्थापक नेता सुवर्ण शशसेर स्मृति दिवस अर्थनीति सम्बन्धी सम्मेलन गरेर मनाइनेछ । २४ कात्तिकमा अर्थविद्हरुसँग बहस हुने महामन्त्रीद्वयको प्रस्ताव छ । मंसिर महिनालाई कांग्रेसले मंगलादेवी सिंहको स्मृतिमा मनाउनुपर्ने प्रस्ताव छ । जसअनुसार, २५ मंसिरदेखि महिला हिंसाविरुद्ध एक महिने कार्यक्रम गरिनेछ । प्रस्ताव अनुसार शैलजा आचार्य, भीमबहादुर तामाङ, शेख इद्रिस, राधाकृष्ण थारु, डिबी परियार लगायतका नेताहरुको सम्मानमा कांग्रेसले कार्यक्रम गर्नेछ । कांग्रेस निर्माणमा महत्वपूर्ण योगदान रहेका यी नेताहरुको सम्झनालाई समाजसँग जोडेर पार्टी गतिशील हुनुपर्ने प्रस्ताव पेश गरिएको छ ।
कांग्रेसले विभिन्न विषयविज्ञसँग प्रत्येक महिनामा एउटा संवाद गर्ने र त्यसको नाम ‘विज्ञसँग वातचित’ हुने प्रस्ताव गरिएको छ । किसानसँग कांग्रेसलाई जोड्न असार महिनालाई सहयोगको महिना बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ । ५ देखि ७ लाख सदस्य थप्ने योजनाका साथ ‘घरघर जाऔं, पार्टी सदस्यता बनाऔं’ अभियान वर्षभर चलाएर पार्टी सुदृढीकरण गर्ने प्रस्ताव महामन्त्री थापाको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ३१ बजे