तेल अभिभ । इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजराइल (टिओआई) ले जनाएको छ ।
“इजराइललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ”, इजराइली सेनाले एक विज्ञप्तिमा भनेको छ, “इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन् ।”
आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ ।
यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित हमालाको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो ।
“यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेबारी बहन गर्नेछ”, आईडीएफले भनेको छ ।
यसैबीच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिएका छन् ।
हमासको रकेट आक्रमण इजराइली सहरका मेयरको मृत्यु
शनिबार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले बताएको छ ।
“आतङ्कवादीको आक्रमणको बेला सहरको रक्षा गर्न गएका ओफिर मारिए”, काउन्सिलको विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको मृत्युपछि काउन्सिलका उपप्रमुख योसी केरेनलाई अन्तरिम प्रमुख बनाइएको छ ।
पछिल्लो समाचारअनुसार हमासको रकेट आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएका छन् ।
मध्य तथा दक्षिण इजराइलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो । यसबाहेक हमासले पाँच जना इजराइल डिफेन्स फोर्स (आईडीएफ) का सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले बताएको छ । आईडीएफले भने त्यसको पुष्टि गरेको छैन ।
हमासको आक्रमणपछि आईडीएफले गाजापट्टीमा जवाफी हमला गरेको छ ।
हमास आक्रमणमा मर्नेको सङ्ख्या चार पुग्यो
गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या चार पुगेको छ ।
टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् ।
कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे ।
दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।
समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो ।
प्रतिक्रिया