चिनियाँ परेडमा उत्तर कोरियाली नेता किम र रुसी पुटिन सहभागी हुँदै



उत्तरी कोरियाका नेता किम जोङ उन बेइजिङमा आगामी साता आयोजना हुने सैनिक परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै सहभागी हुने भएका छन् । उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनको यो सहभागिता युगान्तकारी हुने चीनले जनाएको छ ।

यो किमको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुने भएकाले यसलाई नयाँ बेइजिङ–केन्द्रित विश्व व्यवस्था अघि सारिरहेका चीनका राष्ट्रपति सी चिनफिङको कूटनीतिक जितका रूपमा हेरिएको छ ।

वाशिङ्टनले युक्रेन युद्ध अन्त्य गर्न मस्कोसँग सम्झौता गर्ने प्रयास गरिरहेको बेला हुन लागेको यो परेड र यसमा पुटिन र किमको सहभागिताले चिनियाँ राष्ट्रपति सीको बढ्दो प्रभाव देखाउँछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि यसै हप्ता किमसँग भेट्न चाहेको बताएका थिए । किमको बढ्दो परमाणु भण्डार र रसियालाई दिएको समर्थनले पश्चिमी मुलुकहरूलाई चिन्तित बनाएको छ ।

चीनको “विजय दिवस“ परेड दोस्रो विश्वयुद्धको समाप्ति र जापानले आत्मसमर्पण गरेको ८०औँ वार्षिकी मनाउने क्रममा आयोजना हुँदैछ । पुटिन र किमसहित अन्य २६ देशका प्रमुखहरू परेडमा सहभागी हुने अपेक्षा गरिएको छ । सन् १९५९ पछि पहिलो पटक कुनै उत्तर कोरियाली नेता चिनियाँ सैनिक परेडमा सहभागी हुन लागेका हुन् ।

परेडमा चीनले आफ्नो नवीनतम हतियार प्रदर्शन गर्ने सम्भावना छ, जसमा सयौँ विमान, ट्याङ्क र एन्टी–ड्रोन प्रणालीहरू रहनेछन् । यस पटक पहिलोपटक चीनको नयाँ सैनिक संरचना पूर्ण रूपमा परेडमार्फत देखाइनेछ ।

अत्यन्तै योजनाबद्ध यो कार्यक्रममा दशौँ हजार सैनिकहरू ऐतिहासिक तियानमेन स्क्वायरमार्फत क्रमबद्ध मार्च गर्नेछन् । चीनको सेनाका ४५ वटा भनिने ‘इकेलोन्स’ का सैनिकहरू तथा युद्ध–पूर्वसैनिकहरू सहभागी हुनेछन् । करिब ७० मिनेट लामो यो परेडलाई सीले प्रत्यक्ष अवलोकन गर्नेछन्, जसलाई पश्चिमी शक्ति राष्ट्रहरू र विश्लेषकहरूले नजिकबाट नियाल्नेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १ : ०९ बजे