थाइल्याण्डकी प्रधानमन्त्रीको भविष्य आज तय हुँदै



थाइल्याण्डको अदालतले निलम्बित प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्रालाई पदबाट स्थायी रूपमा हटाउने वा नहटाउने भन्नेबारे आज फैसला गर्ने भएको छ । प्रधानमन्त्री सिनावात्राबारेको यो फैसालाले समग्र सिनावात्रा परिवारकै भविष्य तय गर्ने बीबीसीले उल्लेख गरेको छ । सिनावात्रा परिवार थाईल्याण्डको शक्तिशाली राजनीतिक परिवार मानिन्छ ।

पेतोङ्तार्नका पिता थाकिसन सिनावात्रा थाईल्याण्डका पूर्व प्रधानमन्त्री हुन् । अदालतको आउँदो फैसला उनीहरूको भविष्यका लागि महत्वपूर्ण मानिन्छ ।

पेतोङ्तार्न र क्याम्बोडियाका पूर्व नेता हुन सेनबीचको टेलिफोन वार्ता बाहिरिदा विवाद चुलिएको हो । वार्तामा उनले थाइ सेनाको आलोचना गर्दै हुन सेनलाई शान्त पार्ने शैली देखाएकी थिइन्, जसले प्रधानमन्त्री र उनको दललाई नै लज्जित बनायो ।
प्रधानमन्त्री पेतोङ्तार्नले त्यसलाई “वार्ताको रणनीति“ भन्दै माफी मागेकी थिइन् । तर क्रुद्ध सासंदहरूले उनको राजीनामा माग्दै अदालतमा निवेदन दिएका थिए ।

यदि उनलाई पदच्युत गरियो भने, २००८ यता यसै अदालतद्वारा हटाइने उनी पाँचौँ प्रधानमन्त्री हुनेछिन् । यसले थाइल्यान्डलाई पुनः अनिश्चिततामा धकेल्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ४६ बजे