इजरायल र लेबनानबीच १० दिने युद्धविराम सुरु, बेरुतमा उत्सव र आतिशबाजी



इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भएको छ । राजधानी बेरुतमा यस अवसरमा उत्सव र आतिशबाजी गरिएको छ ।

छ हप्तासम्म चलेको द्वन्द्वमा लेबनानमा २,००० भन्दा बढी मानिसको मृत्यु भएको छ भने प्रत्येक पाचमध्ये एक जना विस्थापित भएका छन् । इजरायलले भने आफ्ना दुई सर्वसाधारण र १३ सैनिक मारिएको जनाएको छ ।

यद्यपी, यो युद्धविराम निकै नाजुक अवस्थामा रहेको छ, र सुरक्षा विश्लेषकहरूले यसको दीर्घकालीन स्थायित्वमा प्रश्न उठाएका छन् ।

इजरायलले आफ्ना सेना दक्षिणी लेबनानमा १० किलोमिटर गहिरो सुरक्षा क्षेत्र भित्रै रहने जनाएको छ । सीमाक्षेत्र नजिक रहेका एक ७० वर्षका व्यत्तिले आफ्ना घर केही मिटर टाढा भए पनि त्यहा जान अनुमति नपाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई लेबनानका लागि ऐतिहासिक दिन भएको बताएका छन् । साथै उनले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न छुट्टै सम्झौता नजिक पुगेको दाबी गरेका छन् ।

यसैबीच बेलायत र फ्रान्सले स्ट्रेट अफ हर्मुजमा जलमार्गको स्वतन्त्रताबारे बैठक आयोजना गर्दैछन्, जसमा करिब ४० देश सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ०६ बजे