नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले प्रत्येक वर्ष समर्थन मूल्य तोक्दै आएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्ले नेपाल–चीन जोड्ने महत्वपूर्ण विद्युत प्रसारणलाइन आयोजना (चिलिमे–केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गरेको छ । ऊर्जा पूर्वाधार विस्तार र सीमापार विद्युत व्यापारलाई लक्षित उक्त आयोजना अघि बढाउने प्रक्रिया यस निर्णयसँगै औपचारिक रूपमा अघि बढेको छ ।
बैठकले भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सहकारीमा भएको वेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालले जानकारी दिईन् ।। साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।




प्रतिक्रिया