दादुराका कारण ५०० भन्दा बढी बालबालिकाको मृत्यु



अकिरा सधैं छिटो सिक्ने बच्ची थिइन्, उनका बुबा अल अमिन गर्वका साथ भन्छन्।

६ महिनाकी हुँदा नै उनले पहिलो शब्द बोल्न थालेकी थिइन्। चार वर्ष नाघ्नासाथ उनले अंग्रेजीका केही शब्द पनि भन्न थालेकी थिइन्।

त्यति भन्दै गर्दा अल अमिनको स्वर भारी हुन्छ।

“उनी दुवै परिवारको अत्यन्त माया पाएकी थिइन्। उनी सबैकी प्यारी थिइन्।”

बंगलादेशको राजधानी ढाकामा परिवारसँग बस्ने अल अमिनका अनुसार, अकिराले दादुरा (मिजल्स) बाहेक सबै खोप लगाएकी थिइन्।

दादुराको खोप लगाउन उनीहरू चार पटक पुगे। दुई पटक चिसो लागेको भन्दै फर्काइयो। स्वास्थ्यकर्मीले भनेका थिए, “तनाव नलिनुहोस्, पाँच वर्षसम्म यो खोप लगाउन मिल्छ।” तेस्रो र चौथो पटक जाँदा खोप उपलब्ध नभएको बताइएको थियो।

मार्च ८ मा अल अमिनले अकिरालाई सामान्य ज्वरो ठानेर अस्पताल लगे। केही सुधार भएपछि घर फर्किइन्। तर पछि शरीरमा दाना आउने, उच्च ज्वरो र मुखभित्र घाउ देखिन थाल्यो।

अल अमिनका अनुसार, अकिरालाई पाँच पटक अस्पताल भर्ना र डिस्चार्ज गरियो। पाँचौं पटक मात्र एक डाक्टरले उनलाई दादुरा भएको बताए।

अकिरालाई लाइफ सपोर्टमा राखियो। पहिलो पटक अस्पताल भर्ना भएको २७ दिनपछि उनको मृत्यु भयो।

मार्चदेखि यता बंगलादेशमा दादुराका पुष्टि भएका तथा शंकास्पद ५०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ, स्वास्थ्य मन्त्रालयका अनुसार।

गत साता स्वास्थ्य मन्त्रीले दादुराका बिरामीको उपचारमा खटिएका डाक्टर तथा नर्सहरूको ईद बिदा रद्द गरिएको बताएका थिए। साथै संक्रमण रोक्न र ज्यान बचाउन देशव्यापी खोप अभियान चलाइएको छ।

अल अमिन र उनकी श्रीमती अहिले पनि आफूहरूलाई दोष दिन्छन्। उनीहरूलाई लाग्छ, अकिराले अस्पतालमै संक्रमण सरेको हुन सक्छ।

“टिकट काउन्टरको लाइनदेखि एक्स-रे कक्षसम्म, जताततै दादुराका बिरामी थिए,” उनी भन्छन्।

उनी आक्रोशित छन् — आफ्नी छोरीले खोप नपाएकोमा, लक्षण चिन्न नसकिएकोमा, र अस्पतालले दादुराका बिरामीलाई अन्य बिरामीबाट अलग नराखेकोमा।

दुई महिनाभन्दा केही बढी अवधिमा बंगलादेशमा दादुराका शंकास्पद संक्रमितको संख्या ६० हजार नाघेको छ। धेरैजना अझै प्रयोगशालाको नतिजा पर्खिरहेका छन्।

दादुरा अत्यन्त संक्रामक रोग हो। खोक्दा वा हाच्छ्युँ गर्दा छिट्टै फैलिन्छ र विशेषगरी पाँच वर्षमुनिका खोप नलगाएका बालबालिकाका लागि खतरनाक हुन्छ।

देशभरका अस्पतालहरूमा बिरामी बालबालिकाका लागि ठाउँ नपाएको गुनासो व्यापक रूपमा आएको छ।

युनिसेफले बीबीसीलाई बताएअनुसार, उनीहरूले भ्रमण गरेका अस्पतालहरू बिरामीले भरिभराउ थिए। पर्याप्त व्यवस्था नभएका अस्पतालमा युनिसेफका कर्मचारीहरूले बिरामी बालबालिकालाई छुट्याउने र प्राथमिकता निर्धारण गर्ने काममा सहयोग गरिरहेका छन्।

स्थानीय स्वास्थ्य केन्द्रहरूले उपचार दिन नसकेपछि धेरै मानिस शहरतर्फ गइरहेका छन्, त्यहाँका अस्पतालले राम्रो सेवा दिन सक्लान् भन्ने आशामा।

पूर्व वैज्ञानिक अधिकारी डा. मुस्ताक हुसेन भन्छन्, “गरिब मानिसहरू अन्तिम अवस्थामा मात्र सरकारी अस्पताल पुग्छन्, किनकि औषधि र परीक्षण आफैं किन्नुपर्छ।”

यदि स्थानीय स्वास्थ्य सेवा अझ व्यवस्थित र स्रोतयुक्त हुन्थ्यो भने, यति धेरै आकस्मिक अस्पताल भर्ना आवश्यक नपर्ने उनी बताउँछन्।

युनिसेफकी बंगलादेश प्रमुख राना फ्लावर्सले यस अवस्थालाई “एक प्रकारको परफेक्ट स्टर्म” भनेकी छन्।

उनका अनुसार, २०२३ देखि केही क्षेत्रमा नियमित खोप छुट्नु, ढाका र कक्स बजारजस्ता घना बस्ती, तथा बिदाका समयमा जनसंख्याको ठूलो आवतजावतले संक्रमणको जोखिम बढाएको हो।

तर एउटा मुख्य समस्या भनेको खोप खरिदमा भएको ढिलाइ हो।

सन् २०२४ मा बंगलादेशकी लामो समयकी शासक शेख हसिना जनआन्दोलनपछि देश छाडेर गएकी थिइन्। त्यसपछि अन्तरिम सरकार गठन भयो र फेब्रुअरी २०२६ मा चुनाव सम्पन्न भयो।

युनिसेफका अनुसार, अन्तरिम सरकारले खोप खरिद प्रक्रिया परिवर्तन गर्ने निर्णय गरेपछि खोप अर्डर गर्न ढिलाइ भएको थियो। राना फ्लावर्सले भनिन् कि उनीहरूले कम्तीमा १० पटक सरकारलाई ढिलाइको जोखिमबारे चेतावनी दिएका थिए।

तर अन्तरिम सरकारका स्वास्थ्य मन्त्रालयका पूर्व विशेष सहायक मोहम्मद सयदुर रहमानले सामाजिक सञ्जालमार्फत खोप खरिद प्रक्रियामा कुनै परिवर्तन नभएको दाबी गरेका छन्।

कतिपय विज्ञहरूका अनुसार, कोभिड महामारीका क्रममा खोप अभियानमा आएको अवरोध अझै पूर्ण रूपमा सुधार हुन सकेको छैन।

डा. हुसेन भन्छन्, “पहिले स्वास्थ्यकर्मी घरघरै पुगेर अभिभावकलाई खोप लगाउन प्रेरित गर्थे। तर कोभिडपछि त्यो घट्यो। कतिपय अभिभावक अस्पताल जाँदा संक्रमण सर्छ कि भनेर डराए।”

अप्रिलको सुरुवातमा बंगलादेशले अन्तर्राष्ट्रिय सहायता संस्थासँग मिलेर आकस्मिक खोप अभियान सुरु गर्‍यो। युनिसेफका अनुसार, धेरै प्रभावित क्षेत्रमा नयाँ संक्रमणको दर केही घट्न थालेको छ।

तर खोपले तुरुन्त प्रतिरोधात्मक क्षमता नबनाउने भएकाले देशव्यापी प्रभाव देखिन समय लाग्नेछ।

बंगलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री सरदार सखावत हुसेनले बीबीसीसँग भने, “खोप लगाएपछि बच्चाहरूमा एन्टिबडी बन्न तीन–चार हप्ता लाग्छ। इन्शाअल्लाह, अर्को सातादेखि संक्रमण घट्न थाल्ने अपेक्षा गरेका छौं।”

तर ईद बिदाका कारण परिवारहरू आवतजावत गर्दा संक्रमण अझ फैलिन सक्ने चिन्ता पनि छ।

डा. हुसेन चेतावनी दिन्छन्, “हजारौं बालबालिका आफ्ना अभिभावकसँग गाउँ–सहर यात्रा गर्नेछन्। ज्वरो भएका र संक्रमित बालबालिका मिसिने सम्भावना धेरै छ।”

यद्यपि स्वास्थ्य मन्त्री हुसेनले राष्ट्रिय आपतकाल घोषणा गर्नुपर्ने माग अस्वीकार गरेका छन्। उनका अनुसार जिल्ला अस्पतालहरू तयार छन् र दुर्गम क्षेत्रका आईसीयूलाई पनि सहयोग गरिरहेका छन्।

“म आपतकालको बारेमा सोच्दिनँ,” उनी भन्छन्। “बंगलादेशले यसलाई सम्हाल्न सक्छ।”

तर उता, अल अमिन अझै पनि अकिरा बितेको दिन गन्दै बस्छन्।

“आज म उनको चिहानछेउ एक घण्टाभन्दा बढी रोएँ,” उनी भन्छन् ।

उनका अनुसार, अहिले डाक्टरले उनलाई निद्राको औषधिसमेत दिएका छन् ।

“मेरो मनभित्र अझै धेरै प्रश्नहरू छन् ।”

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ५ : ०७ बजे