प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिबारे तथ्य माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा विरोध जारी राखेपछि बैठक स्थगित भएको छ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टा ढिला गरी ३ बजे सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अर्यालले केही विपक्षी सांसदहरूलाई धारणा राख्न समय दिएका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको आधार सार्वजनिक गर्नुपर्ने माग दोहोर्याए।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमा विवादबारे तथ्यबिना अभिव्यक्ति दिएको भए माफी माग्नुपर्ने अडान राख्दै आएका छन्। मंगलबारको बैठकमा पनि उनीहरूले यही विषयलाई प्रमुख एजेन्डा बनाएर नाराबाजी गरेका थिए।
विपक्षीको विरोधकै बीच सभामुख अर्यालले संसद्को कार्यसूची अघि बढाउने प्रयास गरेका थिए। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची थिए।
तर विपक्षी सांसदहरूले नाराबाजी नरोक्दा बैठक सञ्चालन हुन सकेन। त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित भएको घोषणा गरे।





प्रतिक्रिया