भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार जयशंकरलाई भेटेका हुन् । बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो ।
जयशंकरले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत दुई देशबीचको सम्बन्ध र दुई पक्षबीच विकास साझेदारी बारेमा छलफल भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो । हाम्रा छलफल विकास साझेदारी र जनता–जनताबीचको सम्बन्धमा केन्द्रित थिए । यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’
लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि हिजो त्यहाँ पुगेका थिए । उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो ।





प्रतिक्रिया