रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँस्थित व्याङखोलामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बिहान करिब ८ बजे सडकबाट जिप करिब ६०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन। दुर्घटनाग्रस्त गाडी भिरालो क्षेत्रमा अड्किएकाले जिपको नम्बरसमेत यकिन हुन नसकेको प्रहरीको भनाइ छ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा परेको बोलेरो जिपमा जस्ता पाता, पाइपलगायत निर्माण सामग्री फेला परेको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखु पनि घटनास्थलतर्फ गइरहेका छन्। दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन।





प्रतिक्रिया