विश्वकप: फ्रान्स र नर्वे अन्तिम १६ मा, एमबाप्पे र हालान्डको चम्किलो प्रदर्शन



विश्वकप फुटबलमा फ्रान्स र नर्वेले प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दा नर्वेले आइभाेरी काेस्टमाथि २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

फ्रान्सको जितमा स्टार फरवार्ड केलिएन एमबाप्पे नायक बने । उनले दुई गोल गर्दै विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने नयाँ कीर्तिमान कायम गरे । यससँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या ६ पुर्‍याउँदै लियाेनेल मेस्सीसँग संयुक्त रूपमा गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका छन् ।

अत्यधिक गर्मीबीच भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पहिलो गोल गरे । त्यसपछि दोस्रो हाफमा ब्राड्ली बार्साेलाले दोस्रो गोल थपे । ७४औँ मिनेटमा पुनः ओलिसेकै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए ।

अब फ्रान्सले जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम १६ मा पुगेको पाराग्वेसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

यता, इर्लिङ हालाण्डकाे अन्तिम समयमा गरेको निर्णायक गोलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले हराउँदै विश्वकपको नकआउट चरणमा पहिलो ऐतिहासिक जित हात पार्‍यो ।

खेलको ३९औँ मिनेटमा एन्टाेनियाे नुसाले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान छिरेका अमाड डियालाेले ७४औँ मिनेटमा शानदार गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

तर खेल सकिन चार मिनेट बाँकी रहँदा प्याट्रिक बर्गकाे कटब्याक पासलाई हालान्डले नजिकैबाट गोलमा परिणत गर्दै नर्वेलाई २–१ को जित दिलाए । यससँगै हालान्डले नर्वेका लागि लगातार १३औँ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने कीर्तिमान पनि कायम गरे ।

अब नर्वेले अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्रजिलसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ हालान्ड र ब्राजिलबीचको भिडन्त प्रतियोगिताकै सबैभन्दा प्रतीक्षित खेलमध्ये एक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : ५५ बजे