बेल्जियमको सहज जित, अमेरिकालाई हराउँदै क्वार्टरफाइनलमा स्पेनसँग भेट



बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यससँगै अमेरिका यस विश्वकपबाट बाहिरिने तेस्रो तथा अन्तिम सह-आयोजक राष्ट्र बनेको छ।

बेल्जियमको जितमा चार्ल्स डी केटेलाएर नायक बने । उनले दुई गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाए ।

अमेरिकाले यस खेलमा आफ्ना स्टार स्ट्राइकर फाेलारिन बालाेगुनलाई सुरुआती रोजाइमा उतारेको थियो । अघिल्लो खेलमा रातो कार्ड पाएपछि उनीमाथि लागेको एक खेलको प्रतिबन्धलाई अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले पुनरावलोकन गर्न आग्रह गरेका थिए । त्यसपछि फिफाले स्वतः लाग्ने एक खेलको प्रतिबन्ध १२ महिनाका लागि स्थगित गरेपछि बालोगुन खेल्न पाएका थिए । यद्यपि प्रतियोगितामा तीन गोल गरिसकेका उनी बेल्जियमको बलियो रक्षापंक्तिबीच प्रभाव जमाउन सकेनन् ।

बेल्जियमले खेलको नवौं मिनेटमै अग्रता लियो । निकाेलस रस्किनको पासलाई चार्ल्स डे केटेलाएरले सहज रूपमा गोलमा परिणत गरे।

अमेरिकाले ३१औँ मिनेटमा बराबरी गोल फर्कायो । त्यसको दुई मिनेटपछि नै बेल्जियमले पुनः अग्रता लियो । लियान्द्राे ट्रसार्डकाे उत्कृष्ट क्रसमा डे केटेलाएरले हेडमार्फत आफ्नो दोस्रो गोल गरे ।

दोस्रो हाफमा डे केटेलाएरले बल खोसेपछि भानाकेनले पेनाल्टी क्षेत्रबाहिरबाट सहज गोल गर्दै स्कोर ३–१ बनाए ।

इन्जुरी समयको तेस्रो मिनेटमा विकल्प खेलाडी राेमेलु लुकाकुले साँघुरो कोणबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत गर्दै बेल्जियमको ४–१ को शानदार जित सुनिश्चित गरे ।

अब बेल्जियमले क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले अन्तिम १६ मा पोर्चुगललाई १–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो । शुक्रबार लस एन्जलसमा हुने यस खेललाई प्रतियोगिताको सबैभन्दा आकर्षक भिडन्तमध्ये एक मानिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : २९ बजे