एटलान्टाको रंगशालाको बीचमा उभिएका लियाेनल मेस्सी आँसु रोक्न सकिरहेका थिएनन् । खेल सकिएपछि उनी आफ्ना टोलीका साथीहरूको काँधमा टाउको राखेर भावुक बने । यो केवल जितको खुसी थिएन, विश्वकप इतिहासमा अर्को अविस्मरणीय अध्याय लेखिएको क्षण थियो ।
खेलको ७०औँ मिनेटसम्म विश्व च्याम्पियन अर्जेन्टिना २–० ले पछि परेको थियो । विशाल स्क्रिनमा मेस्सी निराश मुद्रामा देखिएका थिए । त्यस क्षण धेरैलाई लाग्यो–सायद मेस्सीको विश्वकप यात्रा यतिमै टुंगिनेछ ।
केही दिनअघि मात्र क्रिस्टियानाे राेनाल्डाेले स्पेनसँगको हारपछि आँसुसहित विश्वकपबाट बिदाइ लिएका थिए । मेस्सीको कथा पनि त्यस्तै हुने संकेत देखिएको थियो ।
तर अर्जेन्टिनाले हार मानेन ।
अन्तिम १४ मिनेटमा तीन गोल गर्दै उसले खेललाई पूर्ण रूपमा उल्टाइदियो । विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक पुनरागमनमध्ये एक गर्दै अर्जेन्टिनाले ३–२ को अविश्वसनीय जित निकाल्यो ।
३९ वर्षका मेस्सी पहिलेजस्तो तीव्र गतिमा दौडिन सक्दैनन् । तर उनको खेल पढ्ने क्षमता, सही समयमा सही निर्णय गर्ने बुद्धिमत्ता र निर्णायक क्षणमा प्रभाव पार्ने कला भने अझै उस्तै छ ।
पहिलो हाफमा उनले पेनाल्टी गुमाए। इजिप्टका गोलरक्षक माेस्तफा शाेबेरले उत्कृष्ट बचाउ गर्दै मेस्सीलाई निराश पारे । यो विश्वकपमा मेस्सीले गुमाएको चौथो पेनाल्टी थियो, र उनी एउटै विश्वकपमा दुई पेनाल्टी गुमाउने पहिलो खेलाडी पनि बने ।
तर महान् खेलाडीको परिचय कठिन समयमा हुन्छ ।
७९औँ मिनेटमा मेस्सीको उत्कृष्ट क्रसलाई क्रिस्टियन राेमेराेले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनाको आशा जीवित राखे ।
त्यसको चार मिनेटपछि मेस्सी स्वयं चम्किए । उनले प्रहार गरेको बायाँ खुट्टाको शक्तिशाली सट बारमा ठोक्किँदै गोलमा परिणत भयो । खेल २–२ को बराबरीमा पुग्यो र रंगशाला अर्जेन्टिनाका समर्थकको उत्साहले गुञ्जियो ।
इजिप्टले अन्तिमसम्म संघर्ष गर्यो । तर इन्जुरी समयमा इन्जाे फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पुर्याए ।
खेल सकिएपछि केही मिनेटअघि निराश देखिएका मेस्सीलाई उनका टोलीका साथीहरूले काँधमा उचालेर उत्सव मनाए । अर्जेन्टिनी समर्थकहरू लामो समयसम्म रंगशालामै बसेर गीत गाउँदै ऐतिहासिक जितको खुसी साटिरहेका थिए ।
यस जितसँगै अर्जेन्टिना अब क्वार्टरफाइनलमा स्विट्जरल्याण्डसँग खेल्नेछ ।
यदि अर्जेन्टिना पराजित भएको भए, इंग्ल्यान्डका लागि फाइनलसम्म पुग्ने बाटो निकै सहज देखिएको थियो । तर अब सम्भावित सेमिफाइनलमा मेस्सी नेतृत्वको अर्जेन्टिना फेरि एकपटक सबै टोलीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
यस खेलसँगै मेस्सीले विश्वकपमा लगातार ६ वटा नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए । यस विश्वकपमा उनले पाँच खेलमा आठ गोल गरिसकेका छन् ।
पछिल्ला नौ विश्वकप खेलमा उनले १३ गोल र ३ असिस्ट गर्दै कुल १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन् ।





प्रतिक्रिया