नेपाली कांग्रेसले विगतदेखि सञ्चालन हुँदै आएको विषयगत विभाग गठन गर्ने व्यवस्था अन्त्य गर्दै अब पार्टीका नीतिगत, अनुसन्धान तथा विषयगत गतिविधि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत सञ्चालन गर्ने भएको छ । यससँगै प्रतिष्ठानलाई थप सुदृढ बनाउन आठ जना नयाँ सदस्य पनि मनोनयन गरिएको छ ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले अब विभागले गर्दै आएका नीति निर्माण, अध्ययन–अनुसन्धान, विषयगत बहस तथा पार्टीको धारणा निर्माणलगायतका जिम्मेवारी सम्हाल्नेछ । पार्टीका सभापति गगन थापाले विभागको सट्टा प्रतिष्ठानमार्फत पार्टीका विषयगत दृष्टिकोण र नीतिगत बहस अघि बढाइने बताएका छन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पारित विधानले विभागसम्बन्धी व्यवस्था हटाएको थियो। त्यसयता प्रतिष्ठानअन्तर्गत विभिन्न विषयमा १२ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, सूचना प्रविधि तथा डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, उद्यमशीलता तथा रोजगारी, शिक्षा, जातीय विभेदविरुद्ध सचेतना, डिजिटल तथ्य परीक्षणलगायतका क्षेत्रमा उपसमितिहरूले काम गरिरहेका छन् ।
पार्टीले नीतिगत तथा समसामयिक विषयमा निरन्तर बहस सञ्चालन गर्न ‘ग्रीन टेबल’ नामक संवाद श्रृंखला पनि सञ्चालन गरिरहेको छ, जहाँ विभिन्न विषयमा विज्ञ, सरोकारवाला र पार्टी नेतृत्वबीच अन्तरसंवाद हुँदै आएको छ ।
यसैबीच, प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन उपसभापति विश्वप्रकाश शर्माले आठ जना नयाँ सदस्य मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम गरिएको मनोनयनबारे कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।
नवनियुक्त सदस्यहरूमा प्रकाश पन्थ, डा. प्रेमध्वज लामा, विज्ञान प्रसाईं, रेशम गुरुङ, सिताराम काफ्ले, प्रतीक्षा चापागाईं, मोहन गजुरेल र अनुपा श्रेष्ठ रहेका छन् ।
प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्य र निर्देशकमा डा. सुरेश आचार्य रहेका छन् । पार्टी विधानअनुसार प्रतिष्ठानमा प्रमुखसहित ५१ सदस्य रहने व्यवस्था भए पनि नयाँ मनोनयनसँगै प्रतिष्ठानले आफ्नो संरचनालाई थप पूर्णता दिएको कांग्रेसले जनाएको छ ।





प्रतिक्रिया