राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुश्बु ओलीले प्रधानमन्त्रीले सीमाका विषयमा संसद्मा दिएको अभिव्यक्तिबारे सत्तारुढ रास्वपाका सांसदहरुको स्पष्ट धारणा माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय हितअनुकूल थियो कि थिएन भन्नेबारे रास्वपाले सार्वजनिक रूपमा बताउनुपर्ने माग गरिन् ।
“यदि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितअनुकूल थियो भन्ने लाग्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुस् । यदि लाग्दैन भने प्रधानमन्त्रीलाई सच्याउन आग्रह गर्नुस्,” उनले भनिन् ।
ओलीले राष्ट्रको विषयमा सत्तापक्षले मौनता अपनाउनु पनि एउटा राजनीतिक अभिव्यक्ति भएको टिप्पणी गरिन् ।
“सत्तापक्षका साथीहरूको मौनतालाई तीन करोड नेपालीले कसरी बुझ्ने ?” उनले प्रश्न गरिन् ।
उनले सरकारको आधिकारिक धारणा संसद्मा आउनुपर्ने कि पार्टीको महाधिवेशनमार्फत आउने भन्ने विषयमा पनि प्रश्न उठाइन् ।
“के पार्टीको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ? संसद् पार्टीको मञ्चभन्दा सानो संस्था हो ?” उनले भनिन् ।
खुस्बु ओलीले सीमासम्बन्धी विषय राष्ट्रिय संवेदनशीलता र सार्वभौमिकतासाग जोडिएको भएकाले सरकार र सत्तारुढ दल दुवैले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् ।





प्रतिक्रिया