संविधान संशोधनमा हतार नगर्न गगन थापाको चेतावनी, ‘प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढौं



नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका सबै विषय एकैपटक खोल्न खोज्नु जोखिमपूर्ण हुने भन्दै प्राथमिकता निर्धारण गरेर मात्रै संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले संविधानका सबै प्रावधान एकैचोटि संशोधन गर्न खोज्दा देश फेरि राजनीतिक अस्थिरता र अनावश्यक विवादतर्फ धकेलिन सक्ने चेतावनी दिए ।

थापाले नेपालको संविधान निर्माण प्रक्रियाले लामो संघर्ष र व्यापक राजनीतिक सहमतिमार्फत प्राप्त गरेको उपलब्धिलाई जोगाउनुपर्ने उल्लेख गर्दै संशोधनलाई विवेकपूर्ण ढंगले अघि बढाउनुपर्ने बताए । उनका अनुसार, आठ–दस वर्षको प्रयासपछि संस्थागत हुँदै गएको व्यवस्थालाई फेरि अनिश्चितताको अवस्थामा पुर्‍याउने गरी संविधानका सबै विषय खुला गर्नु उचित हुँदैन ।

उनले संविधान संशोधनमा स्पष्ट प्राथमिकता नतोकिए अराजकता निम्तिन सक्ने बताए। संविधान निर्माणका क्रममा राष्ट्रियता र जनअधिकारबाहेक अन्य विषय संशोधन गर्न सकिने व्यवस्था गरिएको भए पनि त्यसको अर्थ जुनसुकै विषयलाई जथाभावी परिवर्तन गर्न सकिन्छ भन्ने नभएको उनको भनाइ थियो ।

सभापति थापाले संविधान संशोधनका विषयमा सरकारसँग टकराव नभई सहकार्य गर्न चाहेको स्पष्ट पारे । उनले नेपाली कांग्रेस संविधान निर्माणको मूल नेतृत्वकर्ता भएकाले संविधानप्रति पार्टीको विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै भावनात्मक आवेग वा पूर्वाग्रहका आधारमा होइन, राष्ट्रिय सहमति र जिम्मेवारीका साथ संशोधन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

उनले सरकारले संविधान संशोधनका क्रममा बाटो बिराए कांग्रेसले आवश्यक सुझाव र सहजीकरण गरेर सही दिशामा ल्याउने भूमिका खेल्ने दाबी पनि गरे। संविधान संशोधनलाई राजनीतिक प्रतिस्पर्धाको विषय नभई राष्ट्रिय हितसँग जोडिएको संवेदनशील मुद्दाका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो ।

थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, बहुदलीय संसदीय शासन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक चरित्रजस्ता संविधानका आधारभूत सिद्धान्तमा नेपाली कांग्रेसले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे । साथै शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, खुला समाज र मानव अधिकार संविधानका आधारभूत स्तम्भ भएकाले तिनलाई कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ५ : ०९ बजे