फिफाका अध्यक्ष जियानी इन्फान्टिनो ले सन् २०२६ को विश्वकपपछि पुरुष विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावना अध्ययन गरिने बताएका छन् । उनका अनुसार विश्वकप “युरोप र दक्षिण अमेरिकाका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि” हुनुपर्छ ।
गत वर्ष प्रस्तुत गरिएको प्रस्तावमा विश्वकपलाई ६४ टोलीमा विस्तार गर्ने कुरा उठाइएको थियो । इन्फान्टिनोले ४८ टोलीसहितको २०२६ विश्वकप सफल भएको भन्दै अब ६४ टोलीको संरचना कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनुपर्ने बताएका हुन् ।
“हरेक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ। यदि साना देशलाई अवसर दिइएन भने उनीहरूमा सुधार गर्ने प्रेरणा कमजोर हुन्छ।”, जियानी इन्फान्टिनो
फिफाले २०१७ मा विश्वकपलाई ३२ बाट ४८ टोलीमा विस्तार गर्ने निर्णय गरेको थियो । इन्फान्टिनोका अनुसार यस पटकको विश्वकपमा अफ्रिकाका १० मध्ये ९ टोली नकआउट चरणमा पुगेका छन्, जुन विस्तारको सकारात्मक परिणाम हो ।
उनले भने, “अघिल्लो विश्वकपमा अफ्रिकाबाट केवल पाँच टोली थिए। अहिले बढी प्रतिनिधित्व हुँदा उनीहरूले आफ्नो स्तर देखाउने मौका पाए ।”
दक्षिण अमेरिकी फुटबल महासंघ कनमेबोल ले अप्रिल २०२५ मा २०३० विश्वकपलाई ६४ टोलीमा विस्तार गर्ने औपचारिक प्रस्ताव राखेको थियो । तर हालसम्म कुनै अन्तिम निर्णय भएको छैन ।
२०३० को विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्को ले संयुक्त रूपमा आयोजना गर्नेछन् । साथै प्रतियोगिताको शताब्दी मनाउन पहिलो तीन खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा हुनेछ ।
यूएफा अध्यक्ष अलेक्जेन्डर चेफेरिनले ६४ टोलीको प्रस्तावलाई “खराब विचार” भन्दै अस्वीकार गरेका छन् । उनका अनुसार यसले विश्वकप र छनोट दुवैको मूल्य घटाउनेछ ।
यस्तै एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफा ले थप विस्तारले “अव्यवस्था” निम्त्याउने चेतावनी दिएका छन् ।
ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानी ले अमेरिका सन् २०३८ को विश्वकप आयोजना गर्न इच्छुक हुन सक्ने र ६४ टोलीको विश्वकप पनि व्यवस्थापन गर्न सक्षम रहेको बताएका छन् ।
फुटबल विश्लेषक डेल जोनसनका अनुसार विश्वकप जति ठूलो हुँदै जान्छ, आयोजना गर्न त्यति कठिन बन्छ।
प्रतियाेगिता तीन देशमा हुनेछ भने २०३० मा छ देशमा खेल हुनेछ । यदि ६४ टोली भए १२८ खेल आयोजना गर्नुपर्नेछ, जसले स्टेडियम, यातायात, होटल र सुरक्षा व्यवस्थामा ठूलो दबाब पार्नेछ । विशेषगरी साउदी अरेबिया ले २०३४ मा यस्तो ठूलो प्रतियोगिता कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठिरहेको छ ।
६४ टोलीको विश्वकपले फिफालाई भने दुई ठूलो फाइदा दिन सक्छ । फिफाका २११ सदस्य राष्ट्रमध्ये करिब एक तिहाइ विश्वकपमा पुग्न सक्नेछन् । खेल संख्या बढेसँगै प्रसारण अधिकार, टिकट बिक्री र प्रायोजनबाट बढी राजस्व आउनेछ, जसलाई सदस्य संघहरूमा बाँड्न सकिनेछ ।
फिफाको आधिकारिक धारणा अनुसार कुनै पनि विस्तार प्रस्तावलाई सरोकारवालासँग छलफल गरिनेछ र परिषद्ले अन्तिम निर्णय लिनेछ । तर तत्काल ६४ टोलीको विश्वकप लागू हुने संकेत भने देखिएको छैन ।




प्रतिक्रिया