नारायणी अस्पतालमा कुटपिटबाट सुरु भएको विवाद चिकित्सककाे सामूहिक राजीनामासम्म



वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना अब अस्पतालभित्रको आन्दोलनबाट प्रशासनसँगको टकरावमा पुगेको छ । घटनामा दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनरत चिकित्सकहरूले अब सामूहिक राजीनामाको बाटो रोजेका छन् ।

चिकित्सकहरूका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि उनीहरू प्रशासनसँग वार्ताका लागि पुगेका थिए । आक्रमणकारीलाई कानुनी कारबाही गर्ने आश्वासन पाएको भन्दै वार्तामा सहभागी भएका उनीहरूले बैठककै क्रममा वातावरण बिग्रिएको आरोप लगाएका छन् ।

नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि जिम्मेवारी खोज्नुपर्ने धारणा राखेपछि सीडीओ आक्रोशित बनेको र त्यसपछि प्रहरीले चिकित्सकलाई नियन्त्रणमा लिएर अपमानजनक व्यवहार गरेको चिकित्सकहरूको दाबी छ ।

सोही घटनापछि नारायणी अस्पतालका अधिकांश चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन् । उनीहरूका अनुसार अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ र सुरक्षित कार्य वातावरण नबन्दासम्म काममा नफर्किने निर्णय गरिएको छ ।

यसैबीच, नेपाल चिकित्सक संघले पनि आन्दोलनलाई देशव्यापी बनाउँदै आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटना दोहोरिन नदिन सरकारसँग ठोस कदम चाल्न माग गरेको छ ।

गत ८ साउनमा नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट, स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अस्पतालमा तोडफोड भएपछि सुरु भएको विवाद अहिले प्रशासन र चिकित्सकबीचको गम्भीर द्वन्द्वमा रूपान्तरण भएको छ । अहिले डा. रामको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १२ : ५१ बजे