सरकारलाई प्रचण्डको प्रश्न : नागरिकबीच नै द्वन्द्व सिर्जना हुने अवस्था कसरी आयो ?



नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै उनले उक्त घटनाले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भन्दै सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाए ।

प्रचण्डले बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद हिंसात्मक घटनामा परिणत हुनु गम्भीर विषय भएको उल्लेख गर्दै नागरिकबीच नै द्वन्द्व सिर्जना हुने अवस्था कसरी आयो भन्ने प्रश्न गरे । उनले घटनाका क्रममा सुरक्षा निकायले गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने विषयमा विस्तृत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

उनले समस्या समाधानका अन्य विकल्पहरू अपनाउने प्रयास भए वा नभएको समेत निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताए । घटनाले ठूलो साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने जोखिमप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

संसदमा बोल्दै प्रचण्डले देशको समग्र राजनीतिक अवस्था पनि सहज नरहेको टिप्पणी गरे । निर्वाचनमार्फत जनताले दिएको जनादेशअनुसार सरकार अघि बढ्न नसकेको आरोप लगाउँदै उनले सरकारलाई असफल सावित गर्ने वातावरण बनाइँदै छ कि भन्ने आशंका व्यक्त गरे ।

उनले शान्ति–सुरक्षा, सुशासन तथा आर्थिक विकासका क्षेत्रमा सरकार अपेक्षाअनुसार सफल हुन नसकेको उल्लेख गर्दै, यस्तो अवस्था कायम रहे नेपाललाई असफल राष्ट्रतर्फ धकेल्ने खतरा बढ्न सक्ने चिन्ता व्यक्त गरे । सरकार असफल हुनु भनेको राज्य नै कमजोर बन्नु भएकाले वर्तमान सरकारले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने उनले बताए ।

संविधान संशोधनको विषयमा पनि प्रचण्डले सरकारसँग स्पष्ट जवाफ मागे । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदल गठन गरिएको सन्दर्भ उल्लेख गर्दै उनले संशोधनको उद्देश्यबारे प्रश्न उठाए ।

‘हजारौँको बलिदान, त्याग र लामो जनसंघर्षबाट प्राप्त समावेशी लोकतन्त्रसहितको संविधानलाई पुनर्लेखन गर्न खोजिएको हो कि, वा यसलाई कुनै रूपमा कमजोर बनाउने उद्देश्य राखिएको हो ?’ भन्दै उनले सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे ।

प्रचण्डले संविधान संशोधन प्रक्रिया पारदर्शी, सहमतिमूलक र सबै राजनीतिक दलको सहभागितामा अघि बढ्नुपर्नेमा जोड दिँदै जनतामा देखिएका आशंका हटाउन सरकारले स्पष्टता दिनुपर्ने बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १ : ५१ बजे