सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु, दिउँसो २ बजेदेखि लागू



जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्था बिग्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार (साउन १४) दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा आन्दोलन तथा हुलदंगा बढ्न सक्ने सम्भावनाका कारण शान्ति सुरक्षा कायम गर्न कर्फ्यु लगाइएको उल्लेख गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ स्थित राप्रपा बहुमुखी क्याम्पस क्षेत्रसम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएको छ । बिहीबार बिहानदेखि जनकपुरसहित विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ भने केही बजार आंशिक रूपमा बन्द भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : ०५ बजे