धनुषा प्रशासनले जनकपुरधाममा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बिहीबार (साउन १४) दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ ।
सुनसरीको देवानगञ्ज–कप्तानगन्जमा भएको हिंसात्मक घटनाको विरोधमा बिहीबार बिहानदेखि जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यु लागू गरिएको छ ।
प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु अवधिभर ती क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, घेराउ वा अन्य सार्वजनिक गतिविधि गर्न निषेध गरिएको छ ।
सुरक्षा अवस्था सामान्य बनाउन नेपाल प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको प्रशासनले जनाएको छ ।





प्रतिक्रिया