सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, गोली लागेर एक जनाको मृत्यु



सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृत्यु हुनेमा औरही गाउँपालिका–२ का १९ वर्षीय गणेश यादव रहेका छन् ।

बरालले गणेश यादवको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्दै उनको शव केही समयसम्म सडकमै रहेको जानकारी दिए ।

घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको सहयोगमा थप उपचारका लागि अस्पताल पठाइएको प्रशासनले जनाएको छ ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएको छ । सिरहासहित धनुषालगायतका जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिए पनि प्रदर्शन भने विभिन्न स्थानमा जारी रहेको छ ।

घटनापछि गोलबजार क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । प्रशासनले नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति र सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ४ : ४१ बजे