मधेस केन्द्रित दलहरूको संयुक्त अपिल: निष्पक्ष, सामाजिक सद्भाव र संयम कायम गर



मधेस केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूले सुनसरीको देवानगञ्जलगायत पछिल्ला घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न सरकारसँग आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त रूपमा आठ बुँदे वक्तव्य जारी गर्दै सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

उनीहरूले घटनाको सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्दै छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् । वक्तव्यमा साम्प्रदायिक रूपमा संवेदनशील परिस्थितिमा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्नुपर्ने उल्लेख गरिएको छ। घटनापछिको प्रहरी हस्तक्षेप र बल प्रयोगबारे उठेका प्रश्नको पारदर्शी ढंगले छानबिन हुनुपर्ने उनीहरूको भनाइ छ ।

संयुक्त वक्तव्यमा प्रधानमन्त्री लामो समयसम्म मौन बसेको र गृहमन्त्रीको भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरी शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति नागरिकलाई आश्वस्त पार्नुपर्ने माग गरिएको छ ।

दलहरूले घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन, प्रभावित परिवारको दीर्घकालीन जीविकोपार्जनका लागि रोजगारी सुनिश्चित गर्न तथा सामाजिक सुरक्षा प्रदान गर्न सरकारसँग आग्रह गरेका छन् ।

वक्तव्यमा बाह्य तत्व, रोहिंग्या वा अन्य कुनै संगठित समूहको संलग्नता रहेको वा नरहेको विषय स्वतन्त्र र निष्पक्ष अनुसन्धानमार्फत स्पष्ट पार्नुपर्ने उल्लेख गरिएको छ । साथै, दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीलाई अनुसन्धान अवधिभर निलम्बन गरी सुरक्षा व्यवस्थामा भएको कमजोरी र बल प्रयोगको औचित्यमाथि पनि छानबिन गर्न माग गरिएको छ ।

त्यसैगरी, घाइतेहरूको निःशुल्क उपचार, आवश्यक राहतको व्यवस्था तथा राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवासँग समन्वय गरेर सामाजिक सद्भाव कायम गर्न सरकारलाई आग्रह गरिएको छ । मधेसका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा दोहोरिँदै आएका तनावपूर्ण घटनाको निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्नुपर्नेमा पनि वक्तव्यले जोड दिएको छ ।

मधेस केन्द्रित दलहरूले सम्पूर्ण नागरिकलाई संयम, धैर्यता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै कुनै पनि अफवाह, घृणा वा उत्तेजनाबाट टाढा रही सत्य, न्याय र कानुनको पक्षमा उभिन आग्रह गरेका छन् । उनीहरूले निष्पक्ष छानबिन र न्यायबिनाको अवस्थामा जनविश्वास पुनःस्थापित हुन नसक्ने उल्लेख गर्दै सरकारले पक्षपातरहित ढंगले सत्य, न्याय र उत्तरदायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ८ : २१ बजे