प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् । पछिल्ला दिनमा सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै समाधानका उपायबारे छलफल गर्न बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफलमा सुनसरीलगायत मधेशका जिल्लाहरूमा उत्पन्न सामाजिक तथा साम्प्रदायिक तनावलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने, सामाजिक सद्भाव कायम राख्ने तथा संवादमार्फत समस्याको निकास खोज्ने विषयमा विशेष जोड दिइएको छ ।
बैठकमा मधेशकेन्द्रित तथा अन्य राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो । सहभागी नेताहरूमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह, शरतसिंह भण्डारी तथा जयकान्त राउत लगायत रहेका छन् ।
प्रधानमन्त्री शाहले पछिल्लो घटनाक्रमले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पर्न नदिन सबै राजनीतिक दल, स्थानीय समुदाय तथा सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखेको सचिवालयले जनाएको छ ।
सरकारले संवाद, समन्वय र संयममार्फत तनाव समाधान गर्ने नीति लिएको उल्लेख गर्दै बैठकमा सहभागी नेताहरूले पनि शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
सुनसरीसहित मधेशका केही जिल्लामा धार्मिक यात्राका क्रममा भएको विवादपछि उत्पन्न तनावलाई लिएर सरकार र राजनीतिक नेतृत्वबीच परामर्श तथा समन्वयको क्रम जारी रहेको छ ।



प्रतिक्रिया