चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार पुनः पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो करिब २ः१० बजे मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक दुवैतर्फबाट बन्द भएको हो ।
पहिरो हटाउन एउटा डोजर परिचालन गरिएको छ भने थप दुई वटा उपकरण घटनास्थलतर्फ पठाइएको कार्यालयले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।
यसअघि सोमबार बिहान पनि यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा केही समय यातायात प्रभावित भएको थियो । बिहानको पहिरो हटाएर सडक दुवैतर्फ सञ्चालनमा ल्याइए पनि दिउँसो पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध बनेको हो ।
सडक खुलाउने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । पहिरोका कारण सडकमा सवारीसाधनको लाम लागेकाले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।



प्रतिक्रिया