सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रहरीका अनुसार रवीन्द्रको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बायाँ तिघ्रामा गोली लागेका उनलाई थप उपचारका लागि शुक्रबार विराटनगरबाट काठमाडौं ल्याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनको बायाँ खुट्टा काटेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले रवीन्द्रको मृत्यु भएको पुष्टि गरेका छन्।
यसअघि घटनाकै दिन देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो । सरकारसँग सातबुँदे सहमति भएपछि दुवैको घटनास्थलमै अन्त्येष्टि गरिएको थियो
गोलीकाण्डमा घाइते भएका अन्यमध्ये १८ वर्षीय अमित यादव काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन् ।
विराटनगरस्थित न्युरो अस्पतालमा १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र १८ वर्षीय अमलेश मेहता उपचाररत छन् । मिथिलेशको पेटमा गोली लाग्दा शल्यक्रिया गरेर गोली निकालिएको छ भने हरेरामको तिघ्रा र अमलेशको पिठ्युँमा गोली लागेको छ ।
यस्तै, २५ वर्षीय सुनिल मेहता, १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनिल मेहता विराट नर्सिङ होममा उपचार गराइरहेका छन् । उनीहरू क्रमशः खुट्टा, कम्मर र बायाँ हातको कुहिनामा गोली लागेर घाइते भएका हुन् ।
देवानगञ्ज घटनापछि उत्पन्न विरोध प्रदर्शनका क्रममा सिरहाको गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो ।




प्रतिक्रिया