थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : १४ वर्षीय किशोरसहित ७ जनाको मृत्यु, ३० भन्दा बढी घाइते



थाइल्यान्डको राजधानी बैंकक नजिकैको नोन्थाबुरीस्थित डेबसिरिन विद्यालयमा भएको भीषण गोलीकाण्डमा कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये नौ जनाको अवस्था गम्भीर रहेको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बताएका छन् ।

अधिकारीहरूका अनुसार आक्रमण गर्ने १४ वर्षीय किशोरको पनि मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा यो आक्रमण योजनाबद्ध रूपमा गरिएको देखिएको प्रधानमन्त्री चार्नविराकुलले बताएका छन् । उनका अनुसार घटनामा स्पष्ट योजना, निश्चित चरण र लक्ष्य रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

गोलीकाण्डमा आक्रमणकारीले आफ्नै हजुरबुवा–हजुरआमासहित केही शिक्षकमाथि गोली प्रहार गरेको बताइएको छ । घटनाको समयमा विद्यालयबाट भागेर ज्यान जोगाएकी एक छात्राले आफूले एक शिक्षकमाथि गोली प्रहार भएको प्रत्यक्ष देखेको बीबीसीलाई बताएकी छन् ।

अर्की छात्राका अनुसार आफू र उनका केही साथीहरूले ज्यान बचाउन विद्यालयको पर्खाल नाघेर भाग्नुपरेको थियो । घटनापछि विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी र आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ ।

अधिकारीहरूले सर्वसाधारणलाई डेबसिरिन विद्यालय आसपासको क्षेत्रमा नजान आग्रह गरेका छन् । घटनास्थलमा एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धारकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।

यस वर्ष थाइल्यान्डमा भएको यो दोस्रो विद्यालय गोलीकाण्ड हो । देशमा बन्दुक स्वामित्वसम्बन्धी कानुनी प्रतिबन्ध रहे पनि हतियार तुलनात्मक रूपमा सहज रूपमा प्राप्त गर्न सकिने अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

घटनाको कारण र आक्रमणकारीको उद्देश्यबारे विस्तृत अनुसन्धान जारी रहेको थाई अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ५४ बजे