काठमाडौं । प्राकृतिक विपद्को अहिलेको संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमईमार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ ।
विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रुपमा रकम जम्मा गर्न सक्नेछन् । यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्नेछ ।
नेपालभित्रबाट समेत खल्ती बाइ आइएमईमार्फत समेत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गर्दै प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा राहत र पुनर्स्थापना प्रयासमा सरकारलाइ हरसम्भव सहयोग पुर्याउन सबैमा अपिल समेत गरेको छ ।
यस्तै, कम्पनीले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ । साथै, कम्पनीले यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।





प्रतिक्रिया