सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल र मन्त्रालयका प्रदेश सचिव डा. योगेन्द्र मिश्रबीच आर्थिक वर्ष २०८३/८४ को कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ ।
मन्त्रालयलाई तोकिएको कार्य विवरणका आधारमा चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका उद्देश्य अनुरूपका काम कारबाहीलाई प्रभावकारी बनाउन बिहीबार सम्झौता भएको हो ।
सम्झौताबारे जानकारी दिँदै मन्त्री हमालले यो सम्झौता केवल औपचारिकता र कागजमा मात्र सीमित हुन नहुने बताए । मन्त्री हमालले बजेट र नीति कार्यक्रमको सफल कार्यान्वयन नै मन्त्रालयको मुख्य लक्ष्य भएको उल्लेख गर्दै यस सम्झौताले कामलाई परिणाममुखी बनाउन स्पष्ट कार्यदिशा तय गरेको बताए ।
कर्णालीका नागरिकले जलस्रोत, सिँचाइ र ऊर्जाको क्षेत्रमा छिटो र गुणस्तरीय सेवा पाउनुपर्ने भन्दै उनले काममा कुनै पनि कारणले ढिलाइ गर्न नहुने स्पष्ट पारे । अबदेखि कार्य सम्पादनकै आधारमा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई सजाय दिने व्यवस्थालाई कडाइका साथ लागू गरिने समेत मन्त्री हमालको धारणा रहेको छ ।
सम्झौतामा उल्लिखित कार्यहरू अन्य सरोकारवाला निकायहरूको समय, लागत, माग र जनशक्तिको उपलब्धतामा आधारित हुने भएकाले परिस्थिति अनुसार तोकिएका कार्यहरूमा फेरबदल गर्न सकिने लचिलो व्यवस्था गरिएको छ ।
यसैगरी, आयोजनाहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने कार्यहरू माथिल्लो अधिकारीको पूर्व जानकारी र निरन्तर समन्वयमा मात्र सम्पादन गरिने मन्त्रालयले जनाएको छ । यो सम्झौतासँगै कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकासका क्षेत्रमा विनियोजित बजेट र योजनाहरूको सफल एवं समयबद्ध कार्यान्वयन हुने मन्त्रालयले विश्वास लिएको छ ।





प्रतिक्रिया