काठमाडौं : जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको यात्रुवाहक उडानमा बम विस्फोट गराउने र विमान अपहरण गर्ने शङ्कास्पद धम्की आएपछि जहाजलाई आकस्मिक रूपमा जयपुर अन्तर्राष्ट्रिय विमानस्थल मा डाइभर्ट गरिएको छ।
समाचार एजेन्सी पीटीआई र एएनआई का अनुसार एयर इन्डियाको उडान सङ्ख्या एआइ २०३० लाई सुरक्षा खतराको सूचना पाउनासाथ जयपुर विमानस्थलमा सुरक्षित रूपमा आपत्कालीन अवतरण गराइएको हो।
विमानस्थलमा अवतरण गराउनासाथ जहाजलाई मुख्य रनवे र टर्मिनलबाट टाढा आइसोलेसन बेमा लगिएको छ। भारतीय सुरक्षा निकाय, बम डिस्पोजल टोली र नागरिक उड्डयन सुरक्षा अधिकारीहरू जयपुर विमानस्थल पुगेर जहाज, यात्रुहरू र उनीहरूको बगेजको कडा सुरक्षा जाँच गरिरहेका छन्।
सुरक्षा एजेन्सीहरूले बम र अपहरणको धम्की कहाँबाट र कसरी आयो भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेका छन्। पछिल्लो समय नागरिक उड्डयन क्षेत्रमा निरन्तर आइरहेका शङ्कास्पद धम्कीका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।





प्रतिक्रिया