राष्ट्रिय सभा अध्यक्ष भन्छन् : संविधानमा प्रतिनिधिसभा विघटन गर्नै नपाउने व्यवस्था राख्नु गलत



काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटन दुनियाँको अभ्यास भएको भन्दै त्यस्तो व्यवस्था संविधानमा नराख्नु गलत भएको बताएका छन् । त्यसका कारण अहिले लफडा भइरहेको उनले बताएका छन् ।

‘जनप्रतिनिधिमूलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो’, पारिवारिक निजी वन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले भने, ‘संविधान बनाउँदा पटकपटक विघटन भयो भनेर विघटन नै गर्न नपाइने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ ।’

ऐन, कानुन बनाउने क्रममा राजनीति गर्नेहरु अतिवादमा जाने गरेको समेत बताए । राजनीतिक दलहरुले ढंग र्पुयाएर सरकार चलाउन नसक्ने, संविधानलाई दोष दिने गरेको भन्दै त्यसले विकृति र विसंगति बढाएको पनि बताए ।
‘कस्तो विडम्बना छ भने भागबण्डा गरेको छ, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्याएको छ, भागबण्डा गरेको छ । त्यस्तो गरेपछि विघटन नगराएर बचाउनुपर्ने’ उनले प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ५४ बजे